विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै गरेको बताएका छन् । आदिम नेशनल कलेजले आयोजना गरेको ‘आदिम साईन्स एण्ड आइटीएक्जिबिसनकम फुड फेस्टिबल’ अवलोकनका क्रममा उनले नेपालका हरेक शैक्षिक संस्थाहरुले पठनपाठनका साथै व्यवहारिक ज्ञानमा समेतजोड दिन सकेको खण्डमा यो बिषयले मुलुक परिवर्तन गर्न सक्ने बताए ।

आदिम कलेजमा अध्ययनरत कक्षा ११ र १२ का ७० जना बिद्यार्थीहले आविष्कार गरेका डोन टेक्नोलोजी, स्मार्ट सिटी, ब्लुतुथप्रविधि, स्मार्ट डस्टबिन, अटोमेटिक सडक बत्ति, पुलिस लाइट तथा साइरन लगायका प्रविधिको शनिबार अवलोकन गर्दै उनले यो तहका बिद्यार्थीले यस्ता अद्भुत आविष्कार सृजना गर्न सक्नु भनेको बिद्यालय तथा क्याम्पसको अतिरिक्त सिकाइ र अभ्यास नै प्रमुख भएको बताए । साथै उनले यस्ता दक्ष र सृजनशिल जनशक्ति उत्पादन गर्नु हामी सबैको दायित्व भएको र यिनीहरुको कला प्रष्फुटनका लागि यस्ता प्रर्दशनी सहयोगी हुने धारणा पनि व्यक्त गरे् ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनले वैज्ञानिक आविष्कारले फड्को मार्दै गरेको आजको दुनियामा यसको चमत्कारलाई नकार्न नसकिने बताउँदै युवा विद्यार्थीलाई आजैदेखि बलियो बनाउन जरुरी रहेको बताए् ।

अहिलेको स्कुल कलेजको सिकाइ जुन गति र तरिकाले अगाडी बढ्दैछ त्यसमा परिवर्तन ल्याउन आवश्यक भएकाले व्यवहारिक ज्ञानलाई प्रस्तुत गर्ने उपयुक्त माध्ययम बन्न सक्ने यस किसिमका कार्यक्रमले विद्यार्थीमा उर्जा र उत्साह बढाउने पुनको भनाई थियो ।

यस्तै, आदिम कलेजका संस्थापक प्रिन्सिपल शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई घोकन्ते बिद्या र शिक्षामा मात्र सिमित नराखी उनीहरुको ज्ञानको दायरलाइ सिकाइ संगै बुझाइ अनि त्यसैलाई दैनिक जनजीवनमा व्यवहारिक रुपमा लागू गर्न कलेजले विद्यार्थीका सृजनात्मक कामलाई प्रथामिकतामा राखी यस्ता कार्यक्रमको आयोजना गर्दै आइरहेको बताए ।

शर्माका अनुसार यस्ता व्यवहारिक सिकाइले विद्यार्थीलाई अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि ढोकाखोल्ने कामगर्ने मात्रै नभएर स्वदेशकै लागि समेत सृजनात्मक र उपयोगी कामगर्न सक्ने तहसम्म पुर्याउंन सहयोगी भूमिका खेल्छ ।

आदिम साईन्स एण्ड आइटीएक्जिबिसनकम फुड फेस्टिबलको मूल उदेश्य विज्ञान बिषय पढिरहेका विद्यार्थीहरुको सृजनात्मक सीप र कला प्रर्दशन गर्नुका साथै होटल म्यानेजमेन्ट बिषय अध्ययनरत बिद्यार्थी भाइबहिनीहरुको क्षमता प्रस्तुतीकरण गर्दै उनीहरुका सीप, कला र सृजनालाई बाहिर ल्याउनु भएको उनको भनाइ थियो ।

काठमाण्डौं उपत्याकाका विभिन्न विद्यालयका २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको यस कार्यक्रममा आदिम नेशनल कलेजमा अध्ययनरत करिब ७० जनाविद्यार्थीहरुद्धारा तयार परिएका आविष्कारका बिभिन्न प्रोजेक्टहरुको प्रर्दशनी गरिएको थियो ।

साथै सोही कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत ५० भन्दा बढी विद्यार्थीहरुको पाककला प्रर्दशनी गर्नुका साथै फुड टेस्टिगं कार्यक्रम पनि गरेका थिए ।आदिम नेशनल कलेजले आफ्नो स्थापनाकालदेखि नै अतिरिक्त कृयाकलाप मार्फत बिभिन्न सिकाई मुलक कार्यक्रम गर्दै आएकोछ ।