वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरू

नारायण प्रसाद दाहाल

एमालेपछि कांग्रेसलाई धुल्याउन प्रचण्ड सक्रिय, देउवा उपायविहीन

गठबन्धन जोगाउने र एमसीसी संसदीय प्रक्रियामा अगाडि बढाउने सर्तमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका प्रधानमन्त्री शेरबहादुर देउवा त्यतिखेर जिल्लिए, जब बुधबार माओवादी संसदीय दलले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन नै तोड्ने चेतावनी दियो । अझ यतिले नपुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका माधव नेपालले आफ्ना कार्यकर्तालाई सडकमा उतारेर देउवा सरकारको थप तेजोवध गर्ने सफलता हात पारे ।

कतिसम्म भने अस्तिसम्म कसैगरी नगलेका देउवा प्रचण्ड र माधव नेपालद्वारा रचित बुधबारका यी दुवै रणनीति रामवाण सावित भए । देउवा बालुवाटारको बिलासी बिछ्यौनाबाट उठ्नै नसक्ने गरी एकाएक फतक्कै भए । तुरुन्तै उनले भन्दिए– एमसीसी त आज टेबुल गर्न नसकिने भयो ।

आखिर प्रचण्ड र सभामुख अग्नि सापकोटाले त्यही सुन्न खोजेका थिए । बिहानका संसदीय दलका बैठकदेखि दिउँसो आयोजित कार्यव्यवस्था परामर्श समिति सबै नाटक थिए । बानेश्वरमा संसदबाहिरको घेराउ अर्को कृत्रिम जमघट थियो । यी तीनवटै अस्त्र कामयावी भए ।

https://barnanmedia.com/detail/1645056588-el-lii-lu-u-u-bo

राणा अब सर्वोच्चमा फर्किन कठिन, कामु प्रधानन्यायाधीश कार्कीले अब केके गर्ने?

नारायण प्रसाद दाहाल

सत्ता गठबन्धनका ९८ सांसदले हस्ताक्षर गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाभियोग प्रस्ताव संसदीय प्रक्रियामा प्रवेश गरेको छ ।

संसदको आउँदो बैठकमा सभामुख अग्नि सापकोटाले उक्त प्रस्तावलाई पेस गरी ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्नेछन् । समितिले तीन महिनाको समय पाउनेछ । उक्त समितिले माग गरेमा तीन महिनापछि पनि अनुसन्धानका लागि थप समय पाउन सक्नेछ ।

फागुन १ गते महाभियोग दर्ता भएलगत्तै संविधानको धारा १०१ अनुसार राणा प्रधानन्यायाधीश पदबाट निलम्बित भइसकेका छन् । सचिवालयले सभामुखसमक्ष पेस गरिसकेको यो प्रस्तावलाई सात दिनपछि सभामुखले प्रतिनिधि सभाको बैठकमा टेबल गर्ने संसद सचिवालयले जनाएको छ ।

सभामुखले गठन गर्ने ११ सदस्यीय महाभियोग सिफारिस समितिले राणाविरुद्ध लागेका अभियोगबारे अनुसन्धान गरी सभामुखसमक्ष प्रतिवेदन बुझाउनेछ । त्यहीबीचमा समितिले राणासँग बयान पनि लिनेछ ।

https://barnanmedia.com/detail/1645069397-ab-l-ab-hj

चिनियाँ आर्थिक प्रणालीलाई ‘गैरबजारी’ भनी अमेरिकाले लगाएको आरोप आधारहीन: बाणिज्य मन्त्रालय

अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसङ्गत आधार नभएको चीनको बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।

संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथी लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दावी छ ।

मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दावी गरेका बिषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गर्नुभएको हो ।

एमसीसीको पक्षमा उभिन डराउन हुँदैनस्प्रधानमन्त्री: देउवा

 प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

 गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताउनुभयो ।

“कांग्रेसे एक्लै लड्छाँै भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन”, उहाँले भन्नुभयो, “एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।” कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उहाँले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’, उहाँले भन्नुभयो ।

विकास साझेदारीबारे राजदूतसँग छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ ।

उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने पारस्परिक सहयोगका विविध पक्षमा विचार–विमर्श भएको थियो ।दुई सय वर्षभन्दा पुरानो नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध, उक्त देशबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोग, जारी विकास परियोजनालगायत आपसी हित र चासोका विषयमा छलफल भएको छलफलमा सहभागी आयोगका सचिव केवलप्रसाद भण्डारीले राससलाई बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।

थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् ।

गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

 

सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । उहाँहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।

मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता विराटनगरमा

क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न यही फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औँ मारवाडी प्रिमियर लिग एमपिएर प्रतियोगिताको आयोजना हुने भएको छ ।

नेपाल अग्रवाल युवा मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदायका अग्रवाल, महेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टोलीको सहभागिता हुनेछ । मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर –२ स्थित शङ्करपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११, परशुराम वारियर, सिएसवी ११ गरी पाँच टोलीबीच १० वटा लिग कल नकआउट प्रतियोगिता हुने जानकारी दिनुभयो ।

सोह्र जिल्लामा कांग्रेसको अधिवेशन फागुन १५ गते

नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो ।

यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो ।उल्लेखित १६ जिल्लाबाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुने समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।

एमसिसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसी सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ ।

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भ¥याङ बनाउन नहुने बताउँदै उहाँले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्छ भन्नुभयो ।

ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् ।

यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ।

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयोे ।

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएसँगै यस सडकखण्डका लागि रु एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अहिले सदरमुकाम खलङ्गाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ । एक सय १७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड–रिम्नाको स्तरोन्नतिका लागि बोलपत्र भई अहिले काम जारी रहेको छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लुबगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।

मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी अन्दाजी ५० वर्षीया महिला छिन् ।

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ ।

झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ ।“मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने काम श्रीमान्ले गर्नुहुन्छ”, झरनाले भन्नुभयो, “खर्चको सबै हरहिसाब पनि उहाँलाई बुझाउनुपर्छ, मैले सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु ।” झरनाजस्तै टीकापुर नगरपालिका–४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको एक कट्ठा मात्रै जमिन छ त्यो पनि उहाँकै नाममा छ । श्रीमान्ले कमाउने तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ ।

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।

विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उहाँले बताउनुभयो । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।”

एमसीसीको विरोध गर्दै जनता सडकमा,गठबन्धन धरापमा

एमसीसीको विषयमा यतिखेर सिंगो देश अल्झिएको छ । दलका नेताहरु एमसीसीको पक्षमा लाग्दा जनताहरु भने त्यसको विरोध गर्दै सडकमा उत्रिएका छन् ।

जनता यसरी विरोधमा उत्रिदा पनि सरकार एमसीसीको पछि लाग्न छाडेको छैन । जब जनताहरुले नै चाहिँदैन भने पछि नेताहरु किन त्यसको पछाडि लागेका हुन् भनेर बुझ्न सकिएको छैन ।

नेताहरुले आफ्नो स्वार्थलाई हेरेर निर्णय गरिरहेका छन् । एमसीसीकै कारण नयाँबानेश्वर भएको प्रदर्शन हेर्दा जनआन्दोलनको झझल्को स्मरण गराएको भान हुन्छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौ घाइते भएका छन् ।

‘कानुन कार्यान्वयनमा नआउँदा पीडितको सङ्ख्या बढ्दै’

संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समाजमा मानवअधिकार उल्लङ्घनका घटनामा कमि आउन नसकेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा पोखरामा बुधबार आयोजित मानवअधिकारसम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रममा वक्ताले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न संविधानको कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिएका छन् । समाजका विपन्न एवं पछाडि परेको वर्गलाई आर्थिक, सामाजिक एवं सांस्कृतिकरुपमा सक्षम नभएसम्म त्यस्ता वर्ग जोखिमा पर्ने बताउँदै वक्ताले अधिकार सुनिश्चितताका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्थानीय निर्वाचनका लागि आजदेखि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो । निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ ।