कांग्रेसमा मात्र होइन,एमालेमा पनि नयाँ नेतृत्वको खोजि,दोस्रो पुस्ता भर्सेस पहिलो पुस्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशन मंसिरमा हुने निश्चित भएको छ । १० औं महाधिवेशनमा एमालेका लागि सबैभन्दा बढि जटिल दोस्रो पुस्ताका नेताहरुको व्यवस्थापनमा हुने पक्का छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले म ‘एउटै कक्षा दोहराएर पढ्ने मान्छे हैन’ भनेका थिए । तर अहिले उनी कक्षा दोहर्‍याउने  मात्र होइन अध्यक्षका लागि एक्ला पात्र बनेका छन् ।

दोस्रो पुस्ताका नेताहरुलाई भने आफ्नो स्थान कहाँ हो भन्ने भेऊ पाउन कठिन हुने देखिएको छ । ९ भदौमा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनेपछि प्रतिस्पर्धामा रहेका नेता माधवकुमार नेपाल स्वत बाहिरिए । त्यसैले एमालेमा अध्यक्षको दौडमा ओली एक्ला पात्र बनेका हुन् । उनलाई चुनौति दिएर हिक्मतसाथ अध्यक्षमा लड्छु भन्न सक्ने पहिलो पुस्ताकै ईश्वर पोखरेललगायतले आँट गर्ने छाँट छैन भने दोस्रो पुस्ताको कोहि नेता तयार छैन ।

दोस्रो तहका नेताहरुले अध्यक्षको पदमा ओलीलाई सर्वसम्मत रुपमा छोडि दिएपनि पदाधिकारीमा भने हानथाप हुने देखिन्छ । एमालेमा उपाध्यक्ष, उपमहासचिव र सचिवहरुमा बढी प्रतिस्पर्धा हुने हो । नवौं महाधिवेशनमा उपाध्यक्षमात्र ४ जना थिए तर अहिले विधानमा ३ जनाको व्यवस्था गरेको छ ।

तर नेताहरु नै ७ जना उपाध्यक्ष चाहिन्छ भन्न थालेका छन् । यदि तीन जनामात्र उपाध्यक्ष भएमा एमालेमा पद व्यवस्थापन झन समस्या बनेर आउने हुन्छ । दोस्रो पुस्ताका केहि नेताहरुको त यो नै सक्रिय राजनीतिको अन्तिम महाधिवेशन हुने छ ।

जसले कार्यकारी अध्यक्ष पदमा उम्मेदवार नै नभएर विदा हुनु पर्ने छ । त्यहि भएर ४ जनाबाट ३ मा झारेको उपाध्यक्षको पद बढाउने माग केन्द्रीय कमिटीमा उठेको हो । एमालेको विधान महाधिवेशन यहि असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । विधान महाधिवेशनमा जति जनाको पदाधिकारी राख्यो त्यहि संख्या महाधिवेशनबाट चुनिने छ । अध्यक्ष पछि शक्तिशाली पद महासचिव हो ।

तर एमालेमा दुई कार्यकाल महासचिव ईश्वर पोखरेल भइसकेका छन् । तर उनी मुखै खोलेर अध्यक्षको दाबी गर्न सक्ने अवस्थामा छैनन् । त्यसपछि उनको दाबी कि त्यहि महासचिवमा हुने छ त्यो नपाएमा उनको व्यवस्थापन उपाध्यक्षमा हुने देखिन्छ । अध्यक्ष र महासचिव निर्वाचित हुने बाँकी पदमा मनोनयन गर्ने एमालेको नयाँ व्यवस्थाले कसले के पद पाउने भन्ने कुराको अन्तिम छिनोफोनो भने ओलीको हातमा हुनेछ ।

उनले आफ्नो पक्षबाट जसलाई टिक दिएर महाधिवेशनमा जनु पदमा उठ्न भने त्यहि पदमा नेताहरु उठ्ने देखिन्छन् । तीन पदमा ६ जना उपाध्यक्षका आकांक्षी अध्यक्ष पछिको दोस्रो वरियातासहितको सहअध्यक्ष दिने भनेर माओवादीमा फर्कनबाट रोकेका रामबहादुर थापाको व्यवस्थापन गरिएपनि ओलीलाई समस्या थपिएको छ । महाधिवेशनमा उम्मेदवार भएर उठेमा उनी एमालेको गुटभित्रका उपगुटको शिकार बन्ने पक्का छ ।

उनको प्रतिस्पर्धा नगर्ने गरी उपाध्यक्ष बनाउन ओलीलाई पनि समस्या रहेको एक स्थायी कमिटी सदस्य बताउँछन् । जब कि उनको पक्षका सबै नेता एमाले माओवादी ब्युतिएपछि माओवादीमा फर्कदा उनी एक्लै सहअध्यक्षको लोभले एमालेमा बसेका थिए । तर अहिले उनको मर्यादाक्रम ९औं नम्मबरमा झारिएको छ ।

माओवादीमा महासचिव भएका थापा अहिले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ भन्दा पनि पछाडि परेका छन् । एमालेमा अहिले नै तीन जना उपाध्यक्ष बहाल छन् । जसले अहिलेपनि त्यहि दोहरीनुको विकल्प छैन । जसमा भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य । उपाध्यक्ष वामदेव गौतमले एमालेबाट राजीनामा दिइ सकेका छन् ।

अझ उनी ७१ बर्ष पुगेका नेता थिए । एमाले विधानमा ७० बर्ष पुगेपछि सक्रिय राजनीति गर्न नपाउने व्यवस्था छ ।