देउवाको अक्षमताले चौतर्फी अस्तव्यस्तता, कांग्रेसमा पौडेलको माहोल बन्दै

काठमाडौँ । शेरबहादुर देउवा न प्रधानमन्त्रीका रुपमा सफल रहे, न पार्टी सभापतिका रुपमा सक्षम बन्न सके । देउवाले पाँचपटक सरकारको नेतृत्व गरे । सबै कार्यकालमा देशै अस्तव्यस्त भयो । पहिला उनले मन्त्रिमण्डलमा मन्त्रीहरुको संख्या अर्धशतक पुर्याए । अहिले तीन महिना पुग्न लाग्दा पनि आधा दर्जन पनि पुर्याउन सकेनन् । कहिले धेरै मन्त्री बनाएर देशका लागि भार, अहिले नभई नहुने मन्त्रालय पनि खाली राखेर राज्ययन्त्र नै अस्तव्यस्त । देउवाको शासकीय अक्षमताले विकास निर्माणका काम ठप्प छन् । कर्मचारीलाई कामै गर्नु नपरेकामा मस्ती छ ।

अहिले देशमा सरकार छ कि छैन भन्ने अवस्था आउनुमा पनि देउवा एक मात्र र मूल कारण हुन् । देउवा परिवारमा रहेको शक्ति र द्रव्यमोहले नै मन्त्रिपरिषद विस्तार हुन नसकेको कतिपयको आकलन छ । किनभने, देउवाले अझै १६ वटा मन्त्रालय आफ्नै कब्जामा राखेका छन् । तीअन्तर्गत हुने ठूला–साना खरिद, ठेकापट्टा र सरुवा बढुवामा कुनै न कुनै रुपमा देउवाका आफन्तले चासो राखिरहेका छन् । विभागीय सचिवले प्रधानमन्त्री देउवालाई भेट्न नपाए पनि उनका पारिवारिक सदस्यले सचिवहरुलाई बोलाएर गोप्य कोठामा निर्देशन दिने गरेको कुरा जति लुकाउन खोजे पनि ओपन सेक्रेटजस्तै छ ।

शक्तिमा पुग्न र टिक्न तिगडम गर्ने क्रममा देउवा आफ्नो वास्तविक धरातल बिर्सन्छन् । उनको शक्तिप्रतिको अति मोहकै कारण जनताले निकै दुःख गरी ल्याएको लोकतान्त्रिक व्यवस्था पटकपटक जोखिममा परेको छ ।

देउवा नेपाली राजनीतिमा अस्थिरताका नायक मानिन्छन् । संसदीय मर्यादाको सिमानमा बस्न देउवाले कहिल्यै चाहेनन् । हालै मात्र पनि उनले चलिरहेको संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याए । अध्यादेशबाट एमाले र जसपा फुटाएर टुटुफुटको राजनीतिलाई मलजल गरे । अनि संसद चलिरहेकै अवस्थामा अध्यादेश फिर्ता लिए । यो हदसम्मको असंसदीय अभ्यास यसअघि सायदै भएको थियो ।

देउवा जहाँ पुगे, त्यहीँ बेथिति र अव्यवस्था संस्थागत हुन पुग्छ । नेपाली कांग्रेसको नेतृत्व सम्हालेयता सिंगो पार्टी नै अस्तव्यस्त छ ।, कांग्रेसका कुनै पनि भातृ संगठन न पूर्ण छन्, न त नियमित नेतृत्व चयन गर्न सकिरहेका छन् । समयमा महाधिवेशन गर्न नसक्दा पार्टी नै पनि संविधान र विधानले नचिन्ने अवस्था आइसकेको छ । पटकपटक सार्दै र कार्यकालिका संशोधन हुँदै दुई वर्ष पर सारिएको महाधिवेशन आउँदो मंसिरमा हुन्छ भन्ने भरपर्दो आधार अझै देखिएको छैन ।

देउवाकै अक्षमताका कारण नेपालमा कम्युनिस्टहरुको विस्तार तीब्र रुपमा भइरहेको छ । कांग्रेसप्रति चरम निराशा र घृणा पैदा गर्न देउवा र उनको परिवारले जति भूमिका खेलेको छ, त्यो अरुबाट निकै कम भएको छ ।

देउवाका कारण कांग्रेसपंक्तिमा उत्पन्न चरम निराशाले कार्यकर्ता पंक्ति विकल्प खोज्न बाध्य हुने देखिएको छ । देउवाको विकल्पमा सबैभन्दा बलिया उम्मेदवार रामचन्द्र पौडेल नै देखिएका छन् । पाको राजनीतिक पृष्ठभूमि, लोकतान्त्रिक आन्दोलनमा देउवाको भन्दा बढी संघर्ष र योगदान, सादगीपूर्ण जीवनशैली अनि अपरीक्षित नेतृत्व भएका कारण पनि कांग्रेसीहरुले यसपालि पौडेललाई हेरौँ भन्न थालेका छन् ।

कोइराला परिवारका लागि पनि देउवाबाट कांग्रेसको नेतृत्व खोस्ने अचुक उपाय पनि पौडेललाई समर्थन गर्नु नै देखिन्छ । पुनः कोइराला परिवारमै शक्ति फर्काएनका लागि पनि संक्रमणकालीन नेतृत्व पौडेललाई दिनु वाञ्छनीय छ । अन्यथा कोइराला परिवार कांग्रेसबाट बढारिँदै जाने देखिँदै छ ।

यसपालि नेतृत्व परिवर्तन नभएमा कांग्रेसमा चरम निराशा र शिथिलता मात्र आउने छैन, पार्टी नै विघटनमा जाने जोखिम पनि उत्तिकै छ । किनभने, देउवा नेतृत्वमा आएपछि संसद र लोकतन्त्र त जोगाउन मुस्किल पर्छ भने एउटा पार्टीको त कुरा भयो र ? यसअघि पनि उनले कांग्रेस फुटाएर देशलाई दरबारिया र कम्युनिस्टहरुको स्वर्ग बनाउन भूमिका खेलेकै हुन् । अहिले उनको भूमिका भएका कांग्रेसीहरुलाई पनि आफ्नै पार्टीप्रति वितृष्णा पैदा गर्ने भएको छ । देउवाबाट जतिसक्दो चाँडो कांग्रेसलाई मुक्त गर्न सक्यो, पार्टी त्यति नै सुरक्षित हुनेछ ।

यदि सशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि आदि सबैले पौडेललाई यसपालि समर्थन गरेनन् र पुनः देउवा नै बलिया सभापति बनेर आए भने कांग्रेसको मात्र दुर्दसा हुने छैन, दोस्रो पंक्तिका सबै कांग्रेसीहरुको नेतृत्वमा पुग्ने सपना पनि यहीँ सेलाउनेछ । अर्को पाँच वर्ष पनि देउवा नै कांग्रेसको नेतृत्वमा रहेन अवस्था आएमा रामचन्द्र पौडेलको राजनीति त सकिने नै छ, सँगसँगै सशांक कोइराला, विमलेन्द्र निधि, रामशरण महत, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, चित्रलेखा यादव, प्रकाशशरण महत,, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्का, दिलेन्द्रप्रसाद बडू आदि कोही पनि नेतृत्वमा रहने छैनन् । उनीहरुलाई युवा संघ र तरुण दलको पुस्ताले उछिन्नेछ