कांग्रेस पालिका अधिवेशन : पोखरा महानगरपालिकाको मतगणना जारी

सत्तारुढ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका सबै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । यसक्रममा चार गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् भने पोखरा महानगरपालिकाको सभापति पदका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ ।

अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत र माछापुच्छ्रे र मादी गाउँपालिकामा निर्वाचनद्वारा नेतृत्व चयन भएको थियो । मादीमा सभापतिमा यामबहादुर गुरुङ देविजंग गुरुङलाई एक मतले पछि पार्दै यामबहादुर निर्वाचित हुनुभएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

विजयी गुरुङले ९३ मत प्राप्त गर्दा प्रत्याशी देवीजंगले ९२ मत पाउनुभएको थियो । उपसभापतिमा लिला मोहन कुइकेल र कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ, सहसचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल(राजु) निर्वाचित निर्वतमान सचिव भानु ढकालले जानकारी दिनुभयो ।माछापुच्छ्रे गाउँपालिकाको अधिवेशनबाट सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित हुनुभयो । उहाँ विसं २०७४ को स्थानीय तहका निर्वाचनमा काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसैगरी अन्नपूर्ण गाउँपालिका सभापतिमा दोस्रो कार्यकालका लागि मनपति भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपसभापतिद्धयमा सुशील भट्टचन र गौमाया नेपाली निर्वाचित हुनुभयो । यसैगरी सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा धुव्र घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि यसअघिनै सर्वसम्मत चयन गरिएको थियो । रूपा गाउँपालिकामा सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा गेसबहादुर गुरूङ र शंकरलाल श्रेष्ठ, सचिवमा बुद्धिबहादुर खड्का र र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित हुनुभएको छ ।