परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त , शपथ ग्रहण गरी आजै अमेरिका जाने

काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्काले आजै परराष्ट्रमन्त्रीको शपथ लिएर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव अनुुसार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको बताएका छन् । समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परराष्ट्र नीति खलबल्याएको प्रधानमन्त्री देउवा र खड्काको साझा निष्कर्ष छ । त्यसलाई ट्रयाकमा ल्याउन परराष्ट्र मन्त्रालय काँग्रेसले नै राख्ने नीतिअनुसार नै खड्कालाई परराष्ट्रमन्त्री बनाइएको काँग्रेस नेताहरू बताउँछन् ।

उदयपूर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।