आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ।नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।

तत्कालीन बडारानी रत्न राज्यलक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणमा थिइन् । त्यहाँ उनले महात्मा गान्धीको जन्म दिवसमा बाल दिवस मनाएको देखिन् । उक्त दिन सामाजिक रूपमा थुप्रै कामहरू हुने गरेको चाल पाइन् । उनी नेपाल फर्केपछि भाद्र ४ गतेलाई राष्ट्रिय बाल दिवसको शंखनाद गरेकी हुन् ।

रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भाद्र ४ लाई बाल दिवस बनाइने चलन शुरुआत भयो । यसरी भाद्र ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कदै गर्दा नेपालले भाद्र २९ लाई बाल दिवसका रूपमा स्थापित गर्यो । यस वर्षको भाद्र २९ को बाल दिवसमा हामी सबैलाई स्वागत छ ।


बालपनको यादहरू हामीहरू सबैसँग ताजा छ । हामीमध्ये धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि । किनभने बालापन छ नै यति मीठो कि आज खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको सम्झना गर्दा मनमा आउने मिठास धेरै गुणा गुलियो हुन्छ ।

श्रृष्टिका कोपिलाहरू हुन बालबालिका, अनि यी कोपिलाहरूलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ । तसर्थ, बालबालिकाहरूलाई ज्ञान, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विचारोपण गर्न जरुरी छ ।

छाला चाउरी परेका बुढाबुढीहरूदेखि भर्खरै जुगाको रेखी पलाउँदै गरेका किशोरसम्म, ठूला ठूला दार्शनिकदेखि गणितज्ञसम्म सबै जनाहरूलाई बालापन प्रिय छ । आधारभूत मौलिक ज्ञानहरू, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभूत अक्षराम्भ लगायतका शिक्षाहरूले गर्दा बालापन सदासर्वदा याद रहन्छ नै ।

बालापनामै हामीले हाम्रो सिक्ने क्षमता विकास गरेका हौँ । पाइलाका ठेस र पैतालाका घाउले हामीलाई गुरुत्वाकर्षण बल सिकायो होला । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरूको नाम सिक्दै गयौँ होला । आमाको हातले खुवाएको गाँस चपाउँदै हामीले आफैँ खान सिक्यौं होला । हामीले पहिले ‘क’ सिक्यौँ अनि ‘क’ बाट कछुवा । विद्यालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला । छेउकै बेञ्चमा बस्ने साथी जसलाई हामीले सोझै ‘तिमी’, ‘तपाईं’ केही नभनी ‘तँँ’ भनेका हुन्छौँ । उसको र उनको उपस्थितिले हामीलाई मित्रता सिकाएको होला । कापीका पानाहरूले हामीहरूलाई अक्षर लेख्न सिकायो होला ।

बालापनाका तिनै सिकाईका अध्यायहरूले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ । फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले भनेका थिए ‘मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ, तर विस्तारै ऊ दायित्वको डोरीले बाँधिदै जान्छ ।’ यस अर्थमा संसारमा एउटा बालबालिका भन्दा स्वतन्त्र अरु कोही छैन । निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरू छर्न जरुरी छ ।

मानिसलाई उसले लगाउने लुगाले होइन, उसको विचारले चिन्न सिकाउनु जरुरी छ । ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरूलाई भन्न जरुरी छ । बाटोमा फोहोर उठाउन आउने मानिस र चिल्लो गाडीमा बसेर अफिस जाने मानिसबीचमा, सम्पत्तिबीचको फरक भन्दा पनि मानवतारूपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनीहरूलाई सिकाउन पर्छ । कारमा बसेर सपिङ्ग मल होइन, खाली खुट्टा हरियो दुबोमा उफ्रेर नाच्दाको रमाइलो उनीहरूलाई सिकाउनु पनि जरुरी छ ।

पछिल्लो पुस्ताको बाल्यकाल र हालको बाल्याकालमा धेरै फरक छ । उतिखेर डन्डिबियो र लुकामारीमा हुर्केका पुस्ताका तुलनामा आजभोलिका बालबालिका कम्प्युटर गेम र अनलाइन भिडियो, अनि मोबाइल खेलेर हुर्किरहेका छन् । समय परिवर्तनशील छ तथापि उनीहरूलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्दत गर्न पाउँदाको असीम आनन्द सबै कुराहरूबारेमा जानकारी गराउन र मानवीय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्छ ।

सानामा प्रशस्त माया पाएका बालबालिकाहरूले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन् । बालपनको यो संसार मायामा अडेको छ । तसर्थ, आफ्ना बालबालिकालाई माया गर्न, उनीहरूका जिज्ञासाका सरल उत्तर दिन अनि उनीहरूलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔँ । हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनीहरूले लेखेका अक्षर अर्थात् ह्यान्डराइटिङ्गका आधारमा तुलना नगरौँ । हरेक बच्चा आफैँमा विशेष छन् । केवल उनीहरूमा भएको क्षमताको पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौँ । बालबालिकाका निम्ति पैसा भन्दा धेरै समय लगानी गर्न जरुरी छ । उनीहरूलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मानिस र सरल मानिस बन्न प्रेरित गरौँ ।

आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँछ । बालबालिका यस जगतका लागि अनुपम उपहार हुन् । उनीहरूले विशेष माया र सम्मान पाउनपर्छ । आजको दिन ती बालबालिकालाई पनि याद गरौँ, जसमाथि विभिन्न स्थान र शैलीमा दुव्र्यवहार गरिन्छ अनि भइरहेको पनि छ । अपहेलना गरिन्छ, जो बिरामी परेका छन् । उपचारको पहुँचमा छैनन् र ती बालबालिकाहरू जो खुशी छैनन्, तिनीहरूको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नु नै आजको दिनको उद्देश्य हो ।

आजको दिन गत वर्ष झैँ एउटा अर्को नयाँ बाल दिवस मनाइँदै गर्दा बुबा–आमाले पनि आफ्ना छोराछोरीसँग आफ्नो सम्बन्धका बारेमा सोच्न जरुरी छ । जीवन एकदमै ब्यस्त हुँदै गएको छ, तथापि के उहाँहरूले आफ्ना छोराछोरीका लागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन रु के तपाई–हाम्रा बालबालिका सही दिशातर्फ उन्मुख भइरहेका छन् या छैनन्, यदि छैनन् भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पुर्याउनु जरुरी छ । बाल दिवस औपचारिकतामा मात्र सीमित नहोस् । यहाँ न त श्रवणकुमार माटोबाट आएका हुन् न त आतकंवादीहरू आकाशबाट झरेका हुन् । हाम्रा बालबालिका असल हुन्, असल सोचून्, असल बोलून् र असल देखून्, सबैलाई शुभकामना ।