राजेश हमालको चिन्ता : टिकटकले गर्दा चलचित्रमा केही गर्दछु भन्ने व्यक्तिलाई भयंकर चुनौती

अहिलेको जमाना सामाजिक सजालको छ, जो सामाजिक संजालमा हिट भयो त्यसको जीवन चम्कियो । स्रेलिब्रेटी हुन् अथवा सर्वसाधारण । चलेका कलाकार हुन् अथवा नवप्रवेशी । सामाजिक सञ्जाल टिकटकमा विभिन्न अवतारमा भेटिन्छन् । अझ भनौँ टिकटकमा उनीहरूको लगाव राम्रै छ । टिकटकप्रति मानिसहरूको यो मोह देखेर अभिनेता राजेश हमाल भने अचम्म मानिरहेका छन् ।

सामाजिक संजालमा अहिले जो पनि टिकटकमा रमाउने गरेका छन् । विभिन्न मानिसहरुले टिकटकमा आफ्नो प्रतिभा देखाइरहेका हुन्छन् । हरेक वर्गको टिकटक मोह देखेर हमालले आफ्ना पुराना दर्शकहरूलाई सम्झना गरेका छन् । उनी भन्छन, ‘हामीले चलचित्रमा काम सुरु गर्दाको समयमा स्थानीयलाई पृष्ठभूमिमा अभिनय गरिदिनुहोस् भन्दा लजाउनु हुन्थ्यो । अहिले टिकटकमा सवै वर्गलाई देखेर छक्क पर्छु । हजुरआमादेखि नातीनातिनासम्म सबैले टिकटकमा आफ्नो कला देखाइरहनु भएको छ ।’ हमालले अगाडि थपे ‘यसैले चलचित्र क्षेत्रमा केही गर्छु भनेर आउने पुस्तालाई भयंकर चुनौती छ ।’

अहिले टिकटकमा जसले पनि आफ्नो डान्स देखाइरहेका हुन्छन् । अहिले सामान्य मानिस र कलाकार छुट्टाउनै मुस्किल भएको हमाल बताउँछन् । उनले चलचित्र क्षेत्रमा नै करिअर बनाउन र उत्कृष्ट हुन निकै चुनौती रहेको उनको बुझाइ छ । हमाल भन्छन, ‘अब, कलाकारले फरक के ल्याउन सक्छन्, के नयाँ दिन सक्छन् भन्ने मुख्य कुरा हो ।’ पछिल्लो समय अभिनेता हमाल आफै पनि टिकटकमा निकै देखिने गर्छन् ।